२२ असोज ।
आकर्षक कमाइको सपना बोकेर १६ महिनाअघि आफ्नो ब्युटी पार्लर छाडेर विदेश गएकी बुटवलकी गेनुरेश्मी थापामगरलाई दलालले सिरियामा पुर्याएर बिक्री गरे । द्वन्द्वग्रस्त मुलुक सिरियामा बेचिएपछि उनले ‘सरकार म बाँच्न चाहन्छु, मलाई नर्कबाट उद्धार गर्नुहोस्’ भन्दै सामाजिक सञ्जालबाट आग्रह गरिन् ।
तर, ६ महिना बित्दा पनि सरकारले उनको उद्धार गर्न सकेन । लामो प्रयासपछि गैरसरकारी संस्थाहरूको पहलमा हालै मात्र उनको उद्धार भएको छ । उनीजस्तै विश्वका विभिन्न मुलुकमा हजारौँ नेपाली युवायुवतीको बिक्री हुने गरेको छ । तर, उनीहरूको उद्धार हुन सकेको छैन । ‘नेपाल प्रहरी सिरियामा गएर उद्धार गर्न सक्ने अवस्थामा छैन,’ एक सिनियर प्रहरी अधिकारी भन्छन्, ‘स्थानीय प्रहरीलाई भनेर उद्धार गर्न हाम्रो संयन्त्र छैन । त्यही कारण थापामगरको उद्धार गर्न यति लामो समय लागेको हो ।’ विश्वमा पछिल्लो समय नयाँ र सबैभन्दा चुनौतीपूर्ण अपराधको रूपमा मानव बेचबिखन तथा ओसारपसार देखापरेको छ । मानव तस्करीमा संलग्न गिरोहको निकै संगठित र बलियो अन्तर्राष्ट्रिय सञ्जाल छ ।
नेपालबाट अमेरिकालगायत विभिन्न देशमा सजिलै लगेर बिक्री गर्न सक्छन् । तर, सुरक्षा निकायहरूको त्यसलाई नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय संयन्त्र नै छैन । कानुन कार्यान्वयन गर्ने निकायबीच अन्तर्राष्ट्रिय निकायबीच समन्वय र सहकार्य हुन नसक्दा मानव तस्करी विश्वमा भयावह हुँदै गएको छ । मानव तस्करहरू सुरक्षा निकायभन्दा निकै बलियो हुँदै गएको प्रहरी अधिकारीहरू बताउँछन् । जसको मारमा धेरै नेपाली युवायुवतीसमेत परेका छन् । मानव तस्करी तथा बेचबिखनबाट विश्वमा अत्यधिक प्रभावितमध्ये नेपाल पनि एक हो । मानव तस्करीसम्बन्धी अन्तर्राष्ट्रिय रिपोर्टमा नेपाल विश्वकै प्रमुख स्रोत मुलुक बनेको उल्लेख छ । नेपालका हजारौँ युवायुवती सुन्दर भविष्यको खोजीमा अन्तर्राष्ट्रिय मानव तस्कर गिरोहको पञ्जामा पर्ने गरेका छन् ।

मानव तस्करीको शैली परिवर्तन भएको र सुरक्षा निकायहरूले पनि त्यहीअनुसार रणनीति बनाउन आवश्यक भएको उनले बताए । बम्बईबाट मध्यपूर्व र अफ्रिकातर्फ चिनियाँसँग विवाह गरेपछि आफ्नो भविष्य सुखद हुने सपना बोकेकी एक युवतीलाई चिनियाँ युवकले बिहे गरेर दुर्गम गाउँमा पुर्याए । त्यहाँ पुर्याएर यौनदासको रूपमा व्यवहार भएपछि मात्र उनले वास्तविकता थाहा पाइन् । उनले आफ्नो उद्धारका लागि आग्रह गरिन् । उद्धारका लागि पहल गरेको चार महिनापछि बेइजिङस्थित नेपाली दूतावासको पहलमा गत साउनमा उनको उद्धार भयो । तर, चीनका ग्रामीण क्षेत्रमा बिहे गरेर पुगेका अरू धेरै युवतीको बिचल्ली भएको छ । म्यारिज ब्युरोबाट नै त्यसरी युवतीहरू चीन र कोरिया पुगेका छन् । विभिन्न प्रलोभनमा पारेर झुक्याएर उनीहरूलाई म्यारिज ब्युरोले बिहेका नाममा बिक्री गर्दै आएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गरेको अनुसन्धानमा खुल्यो ।
सिआइबीले मानव बेचबिखनविरुद्ध अप्रेसन इगल नामक अभियान नै सुरु गरेको छ । सिआइबीले एक दर्जन गिरोहलाई पक्राउ गरिसकेको छ । राजेन्द्र सुवेदी नेतृत्वको १० जनाको गिरोहलाई सिआइबीले पक्राउ गरेको थियो । उनीहरूले नेपाली युवतीहरूलाई केन्या पुर्याई बिक्री गरेका थिए । असार ३ गते सिरियाबाट नेपाली युवतीको उद्धार भएको थियो । उनलाई सात हजार डलरमा बिक्री गर्ने केदार खड्कालगायतको समूहलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ । दुबईमा ब्युटी पार्लरमा जागिर लगाइदिने भन्दै उनलाई सिरिया पुर्याएर यौनदासीका रूपमा बिक्री गरिएको थियो । हालै उद्धार भएकी गेनुलाई पनि ६ हजार डलरमा बिक्री गरिएको थियो । दुबईमा रोजगारीमा लागि पठाउने भनेर नयाँदिल्लीस्थित साउदी दूतावासका कर्मचारीलाई दुई महिला बिक्री भएको घटना गत महिना मात्र सार्वजनिक भयो । ती महिलालाई बन्धक बनाएर साउदी दूतावासका कर्मचारीले यौनदास बनाएका थिए ।
युवतीहरू मध्यपूर्वी देशहरू लेबनान, सिरिया, इराक, साइप्रसजस्ता देशमा बिक्री हुने गरेका छन् । मुस्लिम देशहरूमा नेपाली युवतीलाई रोजगारीका नाममा अवैध तरिकाले पुर्याएर बिक्री गरिँदै आएको छ । बेरोजगारी र अशिक्षा नै नेपालीहरू मानव तस्करको जालोमा पर्नुको प्रमुख कारण भएको अपराध अनुसन्धान विभागका डिआइजी नवराज सिलवाल बताउँछन् ।
-Source:enayapatrika
0 comments:
Post a Comment